एकीकृत समाजवादी परित्याग गरेको नेता मुकुन्द न्यौपानेको घोषणा

राष्ट्रपाटी न्युज

२५ चैत्र २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् ।

माधवकुमार नेपाल र झलनाथ खनालपछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर सो पार्टी छाडेको घोषणा गरे ।

न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्याग गरेको जनाएका छन् । आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल गर्न नदिएको पनि उनको गुनासो छ ।

नेता न्यौपानेले भविष्य नभएको पार्टीको नेता भएर बसिरहनुभन्दा सम्मानित नागरिक भएर जिउने खोजेको भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताए ।

उनका अनुसार एसका अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीबाट झलनाथ खनाल पनि असन्तुष्ट रहेको जनाउँदै एमालेले सम्मानित स्थान दिए फर्केर आउने मनस्थितिमा रहेको उनले बताए । त्यसका लागि नेकपा एमालेले पहल गर्नुपर्ने उनको भनाई छ ।


Published :२५ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media