संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको टुंगो मध्यममार्गबाट लगाइन्छः प्रधानमन्त्री 

राष्ट्रपाटी न्युज

२५ चैत्र २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाउने दाबी गरेका छन् ।

शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको बताए । उनले चैत्र २८ गते विज्ञहरुसँग बसेर यसको प्राविधिक पाटो पनि टुंग्याउने बताए ।

उनले भने, ‘सदनभित्रको टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउन छलफल भयो, सैद्धान्तिक रुपमा हामी सहमत नै छौँ । प्राविधिक पाटो भएकाले विज्ञहरु पनि बसेर २८ गतेको बैठकले टुंग्याउने कुरा भएको छ । हामी सरकारमा बसेकाहरुले फास्ट ट्रयाकबाट टुंग्याउने भनेका छौँ । प्रतिपक्षले समितिमा लैजाने कुरा छ, बीचको बाटो खोज्ने भन्ने पनि छ ।’

प्रधानमन्त्री दाहालले सरकार पक्षधर राजनीतिक दलहरुले भने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट नै टुंग्याउने पक्षमा रहेको बताए ।


Published :२५ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media