कर्णाली सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीले बुझाए सामूहिक राजीनामा

राष्ट्रपाटी न्युज

२६ चैत्र २०७९

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । संघीय सरकारमा भएको राजनीतिक फेरबदलको प्रभाव प्रदेशमा परेसँगै कर्णाली सरकारबाट एमाले बाहिरिएको हो ।

गत पुस १० गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पाँच दलीय गठबन्धन भत्किएर नयाँ गठबन्धन निर्माण हुँदा कर्णालीमा माओवादी केन्द्रको नेतृत्वको सरकारमा एमाले सहभागी भएको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रको केन्द्रको निर्णयअनुसार कर्णालीमा माओवादी केन्द्रका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनको सरकारमा नेकपा एमालेबाट प्रदेश अध्यक्ष विनोद शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र जितबहादुर मल्ल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए ।

राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धन ब्युँतिएपछि एमाले संघीय सरकारसँगै प्रदेश सरकारबाट पनि बाहिरिँदै गएको हो । कर्णाली सरकारमा सहभागी नेकपा एमालेका तीनै जना मन्त्रीले आइतबार मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री राजकुमार शर्माका प्रमुख स्वकीय सचिव शैलेस शर्माले आइतबार नेकपा एमालेबाट सहभागी तीनैजना मन्त्रीले राजीनामा पेस गरेको जानकारी दिए ।


Published :२६ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media