काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले समन्वय नगरेको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटको तस्विरसहित लामो ‘स्टाटस’ लेखेका छन् ।
उनले सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नै फोहोर नउठाइएको बताए । उनले बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता गैरजिम्मेवारी र लापरवाहीका कारण बाध्यात्मक कदम उठाउनु परेको स्पष्ट पारे ।
‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो’, उनले लेखेका छन्- ‘यो दबाब आवश्यक छ भन्नेमा सायदै दुईमत रहला।’
सिंहदरबारसम्म पुग्न महानगरले धेरै कसरत गर्नुपरेको भन्दै उनले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नै नचाहेको दाबी गरेका छन् । नौ महिनामा पटक–पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुरा कार्यान्वयन गर्न मुस्किल परेको भन्दै उनले १४ बुँदा उल्लेख गरेका छन् ।
‘स्थानीय समस्या स्थानीय तहमा नै समाधान हुन सकून, संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस्,’ उनले भनेका छन् । ‘देश विकेन्द्रीकरणको उच्चतम लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ, तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौं आइरहनुपर्ने अवस्था छ, त्यस्तो नहोस्,’ मेयर शाहले भनेका छन् ।