अर्थतन्त्र सुधार गर्न सरकार गम्भीररूपमा लागेको छः प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

चैत्र २६, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरूको खोजी गम्भीरतापूर्वक गरेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीररूपमा लागिरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस भएको बताए। उनले अर्थतन्त्रमा संकट आउनु राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै कारण जिम्मेवार रहेको बताए ।

उनले अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने भन्दै त्यता जोड दिएको बताए । घरजग्गा कारोबारमा सहजीकरण नगरिकन तरलताको समस्या सम्बोधन गर्न नसक्नै बताउँदै उनले छिट्टै निष्कर्षमा पुग्ने बताए ।

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताए ।

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायतका पदाधिकारीहरू सहभागी थिए ।


Published :चैत्र २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media