परराष्ट्रमन्त्रीमा एनपी साउद नियुक्त हुँदै, आजै शपथ

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद आज परराष्ट्रमन्त्री नियुक्त हुने भएका छन्  । उनलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

उनको आजै दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

वैशाखको तेस्रो साताभित्रै भारत भ्रमणमा जाने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री नियुक्तिको तयारी गरेका हुन् । गत पुस १० मा प्रधानमन्त्री बनेका दाहालले दोस्रो पटक बनेको मन्त्रिपरिषद्लाई पूर्णता भने अझै दिन सकेका छैनन् ।

गठबन्धन दलबीचको भागबन्डामा परराष्ट्रमन्त्री नेपाली कांग्रेसको भागमा परेको थियो। शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार विस्तारका लागि छलफल गरेका थिए । छलफलकै क्रममा परराष्ट्रमन्त्रीका लागि नाम पठाउन कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीले आग्रह गरेका थिए ।

देउवाले परराष्ट्रमन्त्रीका लागि शनिबारै साउदको नाम पठाएका हुन् ।

साउद सुदूरपश्चिम प्रदेशको कञ्चनपुरबाट प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।


Published :३ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media