आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्छुः नवनिर्वाचित अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हालेका छन् । काठमाडौंको टेकुस्थित महासंघको कार्यालयमा पुगेर ढकालले पदभार सम्हालेका हुन् । सो क्रममा ढकाललाई महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले कार्यभार हस्तान्तरण गरेका थिए । पदभार ग्रहणपछि अध्यक्ष ढकालले आफ्नो कार्यकालमा विशेष गरी पाँचवटा विषयलाई प्राथमिकतामा राखेको बताए ।

उनले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्ने पहिलो प्रतिवद्धता रहेको बताए ।  त्यस्तै राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्दै मुलुकमा लगानीको वातावरण बनाउन पहल गर्ने उनको भनाइ छ । ढकालले दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्न दबाब दिने धारणा राखे ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७ औं साधारणसभा मार्फत ढकाल २० औं अध्यक्षमा निर्वाचित भएका हुन् ।


Published :३ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media