सत्ता र कुर्सीका लागि विदेशी शक्तिसँग सौदाबाजी भइरहेको नेकपा प्रवक्ता विश्वकर्माको आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले देशको अस्तित्व संकटमा पर्न लागेको टिप्पणी गरेका छन् ।

बिहीवार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले देश असाध्यै संकटपूर्ण अवस्थामा रहेको बताए । उनले देशको अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताए । उनले एमसीसी प्रोजेक्ट देशको बिरुद्धमा केन्द्रित रहेको र भारतीयहरुले सीमाना मिचिरहेको भन्दै देशको स्वाधिनतामाथि नै प्रश्न उठेको बताए । उनले विश्वका शक्ति राष्ट्रहरुको संघर्ष दुश्मनीपूर्ण अवस्थामा पुगेको उल्लेख गरे । प्रवक्ता विश्वकर्माले अमेरिका र चीनबिचको अन्तरबिरोधलाई नेपालले ठिक ढंगले विश्लेषण गर्न नसके नेपाल युक्रेनको अवस्थामा पुग्ने बताए ।

प्रवक्ता विश्वकर्माले अहिलेको राजनीतिमा विचार, नीति, सिद्धान्त र नैतिकताको कुनै प्रश्न नरहेको बताए । राजनीति केवल सत्ता र कुर्सीको निम्ति गरिने षड्यन्त्रमुलक खेलको रुपमा स्थापित हुन पुगेको उनले बताए । उनले सत्ता र कुर्सीको स्वार्थको निम्ति विदेशी शक्तिहरुसँग सौदाबाजी भइरहेको उनले आरोप लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा वैशाख ९ गते आफ्नो पार्टीले काठमाडौंको खुलामञ्चमा कार्यक्रम गर्ने बताए । कार्यक्रममा देशका कम्युनिष्ट तथा वामपन्थी १० वटा राजनीतिक पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने उनले जानकारी दिए । करिव १५ हजार मानिसहरुको सहभागिता हुने सो कार्यक्रममा शिर्ष पार्टीका नेताहरुलाई समेत निमन्त्रणा गरिएको उनले जानकारी दिए ।


Published :७ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media