अर्थतन्त्रमा परेको दबाब फुकाउन सरकार लागिपरेको अर्थमन्त्री महतको दाबी

राष्ट्रपाटी न्युज

१३ बैशाख २०८०

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा केही दबाब परेको बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले अर्थतन्त्रमा केही दबाब परेको र यसलाई फुकाउन सरकार लागिपरेको दाबी गरेका छन् ।

डा.महतले भने,‘अर्थतन्त्र संकटग्रस्त भयो भन्ने धारणा सबैमा छ । अर्थतन्त्रमा केही दबाब परेको छ । केही अफ्ठेराहरु आएका छन् । केही संरचनागत समस्याहरु छन् । यसलाई फुकाउन जरुरी छ ।’

पुजिंगत खर्चको विस्तारमा समस्या भएको बताए । अर्थतन्त्रलाई गति दिन विपक्षी र सत्ता साझेदार दल सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । डा.महतले भने,’अर्थतन्त्रको कहाली लाग्दो स्थिति छैन । अर्थतन्त्रलाई चलायमान बनाउने कुरा आज बोलेर भोलि चमत्कार हुने भन्ने होइन।’

व्यापार घाटा घटाउने सरकारको नीति रहेको उनको भनाइ छ। उनले पूरा गर्नेगरी आयोजनालाई बजेट छुट्याइने बताए । आगामी बजेटका लागि माग धेरै आएको भन्दै डा. महतले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा थोरै आयोजना राखौं र त्यो कार्यक्रम पूरा गरौं ।’

उनले देशमा लगानी बढेमात्रै रोजगारी वृद्धि हुने बताए । डा. महतले भने,‘उद्योग व्यवसाय बढ्नुपर्‍यो । लगानी बढ्नुपर्‍यो । अनि बल्ल रोजगारी बढ्छ । त्यसतर्फ सरकारको ध्यान गएको छ ।’


Published :१३ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media