काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्था नयाँ शोषकका रुपमा उदाएको आरोप लगाएका छन् ।
बैंक तथा वित्तिय संस्थाहरुले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरुलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरु रहेको मन्त्री किरातीको भनाई थियो ।
होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरुलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरुको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गरे ।
मन्त्री किरातीले पहिले शोषकहरु दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए । उनले सहरमा पनि बैंक तथा वित्तिय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराए । मन्त्री किरातीले बैंक तथा वित्तिय संस्थाहरुको ब्याँज घटाउन सक्ने अवस्था नरहेको पनि बताए ।
मन्त्री किरातीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यकता औंल्याए । उनले होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासन समेत दिए ।