सरकारबारे निर्णय गर्नुअघि प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच भेट

राष्ट्रपाटी न्युज

१७ बैशाख २०८०

काठमाडौं । सरकारबारे निर्णय गर्नुअगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

चितवन-२ बाट सांसदमा पुन निर्वाचित भएपछि लामिछानेले आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल  गरेका हुन्।

उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र सरकारबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन: सांसदमा निर्वाचन भएकोमा बधाईसमेत दिएका छन्।

चितवनबाटै लामिछानेले न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने बुँदा हटेको सरकारले हटाएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए ।

सरकारबारे निर्णय गर्न रास्वपाले केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बोलाइएको छ । संसदीय दलको नेता चयन र राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको जनाएको छ ।

सोमबार बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठकमा संसदीय दलको नेता चयन हुने बताइएको छ । रवि लामिछानेको सांसद पद गुमेपछि उपसभापति डोलप्रसाल अर्याललाई संसदीय दलको नेता बनाइएको थियो । लामिछाने पुनः निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।


Published :१७ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media