धादिङ । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडकखण्ड एकतर्फी रूपमा संचालन भएको छ ।
भासिएको स्थानमा ग्यावीन जाली हालेपछि बाटो आज बिहान १० बजेपछि एकतर्फी रुपमा संचालनमा आएको धादिङ प्रहरीले जानकारी दिएको छ । मनसुन बर्षाका कारण हिजो सोमबार दिउँसो ४ बजेदेखि उक्त सडक खण्ड अबरुद्ध बनेको थियो ।
यातायात ठप्प हुँदा धार्के र धार्के आसपासका बजारमा यात्रु अलपत्र परेका थिए । काठमाडौं तर्फबाट बाहिरिएका अधिकांश यात्रुहरु काठमाडौं नै फर्किएका छन् । पुर्वपश्चिमबाट आएका केही यात्रुहरुले लोकल गाडीहरु प्रयोग गरेर गन्तव्यतर्फ हिडेका छन् ।
ग्रामीण सडकमा गुड्नसक्ने साना सवारीहरु वैकल्पिक बाटोबाट गन्तव्यतर्फ लागेका छन् भने अधिकांश यात्रु अलपत्र परेका छन् । काठमाडौबाट ट्याक्सीहरु आएर पनि यात्रु ओसार्न थालेका छन् । पुल वारीपारी परेका केही यात्रुवाहक सवारीले यात्रुलाई साटफेर गरेर पनि गन्तव्यतर्फ लगेका छन् ।
धादिङको धार्के बजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएको हो । पृथ्वीराजमार्ग हुँदै पुर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौं भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो ।