उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे

राष्ट्रपाटी न्युज

बैशाख १९, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई विदेश पठाएको प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।
सो प्रकरणमा मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई नै पक्राउ परेका थिए । यसअघि पक्राउ परेका केशव दुलाल र राईको बयानका आधारमा पाण्डेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पाण्डे यसअघि गृहसचिवका रुपमा कार्यरत रहने क्रममा नक्कली शरणार्थी अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको पाइएको प्रहरीले जनाएको छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

झापा, मोरङ, सुनसरी, दाङ, गोरखा लगायतका जिल्लाका नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा राज्य संयन्त्र नै प्रयोग भएको भेटिएको छ ।


Published :बैशाख १९, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media