काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन रूपमा प्रयोग गरिएको बताएकी छन् ।
बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले महिलालाई विज्ञापनको साधनको रूपमा प्रयोग गर्न नहुने बताएकी हुन् ।
उनले भनिन्, ‘महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन। कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन ? विभिन्न खाले विज्ञापन हुन्छन् ? महिलाहरूको सुन्दरताका कारणले पनि होला भन्नुभयो, तर त्यसो हो जस्तो मलाई लाग्दैन ।’
उनले कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भने पनि सुन्दरताका लागि मात्रै महिलाहरू विज्ञापनको साधन बन्ने कुरा आफैँमा गलत रहेको बताइन् ।
‘महिलाहरूको सुन्दरताका कारणले पनि होला भन्नुभयो, तर त्यसो हो जस्तो मलाई लाग्दैन । सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा हुन्छ, महिलामा हुन्छ । समाजका हरेक वस्तुमा हुन्छ, सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्ने कुरा आफैँमा बेठिक छ, उनले भनिन् ।
उनले भनिन्, ‘विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्छ। त्यसले कुनै विषयमा कतै पनि घोचपेच गरिएको हुनु हुँदैन। हाम्रो संविधान, कानुन, भएको कुरा उल्लङ्घन भएको हुनु हुँदैन । महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन ।’