काठमाडौं । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले उनीहरूले विभिन्न समयमा नक्कली कागजात र ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूले विभिन्नमा नागरिकता बनाउने टोली स्थलगत रुपमा गएको समयमा नक्कली विवरण पेश गरी नागरिकता लिएको बुझिएको छ ।
उनीहरुका साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्डसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै, बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् ।
प्रहरीका अनुसार उनीहरूले जिल्ला प्रशासन कार्यालय रूपन्देही,बारा,पर्सा लगायतबाट जारी गरेको नागरिकता लिएका थिए ।