काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रीत हुने बताएका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलाउन बनाउनका लागि समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि नीति अबलम्वन गरिने बताए ।
उनले समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने धारणा राखे। अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्नका लागि पहिलो दिनदेखि महिना–महिनामा अनुगमन गर्ने उनले बताए ।
मन्त्री महतले राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर गम्भीर भएर लाग्ने जिकिर गरे । उनले यो आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आगामी वर्ष समावेशी र फराकिलो आर्थिक वृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको बताए ।
उनले करमा केही घरानालाई पोस्ने काम अहिलेको सरकारबाट नहुने भन्दै समग्र जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिवद्धता जनाए। मुलुकको अर्थतन्त्रमा कसरी समृद्धि सिर्जना गर्ने भन्ने बोरमा केन्द्रीत हुनुपर्ने भन्दै उनले बिलासिताको वस्तुको आयात रोक्ने विषय मुख्य नभएको उल्लेख गरे।