काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले काँग्रेस शहर केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद कोईराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भएपनि अहिले बिस्तारै हराउँदै गएको बताउनु भयो । उहाँले अहिले केन्द्रिय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको बताउनु भयो । उहाँले निर्वाचनका बेला आधा मात्रै केन्द्रिय सदस्यहरु जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताउनु भयो ।
प्रथम राष्ट्रपति यादवले अरु पार्टीहरुले मिसन ग्रासरुट गरिरहँदा काँग्रेस चाहिँ शहरमा मात्रै केन्द्रित भइरहेको बताउनु भयो ।
पुरानो प्रजातान्त्रिक दलको निष्क्रियताले प्रजातन्त्रमाथि खतरा आउन सक्ने भएकाले सचेत रहन पनि उहाँले समाजका सदस्यहरुलाई आह्वान गर्नुभयो । प्रजातन्त्र जोगाउन समाजका सदस्यले आलोचनात्मक भएर प्रस्तुत हुनुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ थियो ।
बिहीबारसम्म राजधानीमा चल्ने समाजको महाधिवेशनमा सात प्रदेश र ७० जिल्लाका प्रतिनिधिको सहभागिता रहेको अध्यक्ष डा केदारनरसिंह केसीले जानकारी दिनुभयो । समाजको महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्य समितिसमेत गठन गर्ने जनाइएको छ ।