उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसी उपाध्यक्ष ब्रुक्सबीच परियोजना समयमै सम्पन्न गर्ने सहमति

राष्ट्रपाटी न्युज

जेष्ठ ५, २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो ।

भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए भने उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुने गरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरुको आवश्यक सहयोग हुने बताएका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले एमसीसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने कुरा सो परियोजनाको प्रतिनिधिमण्डललाई बताएको भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईले जानकारी दिए ।

उनले भने, ‘आज २०८० साल जेष्ठ महिनाको ६ गते गृह मन्त्रालयका माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यू र एमसीसीका भाइस प्रिसिडेन्ट जोनाथन ब्रुक्सबीच भेटघाट भएको छ ।

उनीहरुको नेपाल भ्रमणको क्रममा माननीय उपप्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट हो । परियोजनाका बारेमा सामान्य कुरा गर्न र परिचयात्मक रुपमा आफूलाई प्रस्तुत गर्न उपस्थित भएका थिए । र, भेटघाटको क्रममा परियोजनाका आगामी गतिविधिहरुमा मूल रुपमा प्रमुख जिल्ला अधिकारीहरु संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ति, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयको पार्टमा गृह मन्त्रालयका तर्फबाट हुन सक्ने सहयोगका लागि आग्रह गरेका छन् । र, माननीय उपप्रधानमन्त्रीज्यूले परियोजनाको सफल कार्यान्वयन, समयमै सम्पन्न गर्ने गरेर कार्यान्वयन गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरुबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन उपलब्ध गराएका छन् ।

भेटमा उपाध्यक्ष बु्रक्ससहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसँग परियोजनाका बारेमा सामान्य ब्रिफिङ पनि गरेको थियो ।


Published :जेष्ठ ५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media