नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी ठगि प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी गरेको छ।
शुक्रबार नै प्रतिवेदन बुझाउने तयारी भएपनि अन्तिम समयमा थप दुई जना पक्राउ परेपछि बयान गर्नुपर्ने भएकाले सरेको काठमाडौं प्रहरी परिसरस्रोतले जनाएको छ ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गर्ने छ। सरकारी वकिल कार्यालयले ककसलाई प्रतिवादी बनाउने र के के अभियोग लगाउने भनेर अन्तिम निर्णय गर्ने छ।
यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकसहित करिब एक दर्जन फरार रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरले प्रस्तावित रायसहित अनुसन्धान प्रतिवेदन बुझाउने छ । प्रस्तावित रायमा ककसलाई के के अभियोग लगाउनेसहित राय उल्लेख हुने छ । प्रहरीले पक्राउ गरेका, प्रतिवादी बनाउन राय दिएकाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्धा नचलाउने निर्णय पनि गर्न सक्छ ।
सरकारी वकिल कार्यालयले मंगलबारसम्म अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने छ । संगठित अपराधमा पक्राउ परेको ६० दिनभित्र अभियोग पत्र दर्ता गरिसक्नुपर्ने हदम्याद मंगलबार सकिँदै छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरि अनुसन्धान सुरु भएको थियो ।
यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, सांसद तथा पूर्व मन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १६ जना पक्राउ परेका छन् ।
प्रहरीले ठगी, संगठित अपराध, सरकारी कीर्ते, राज्यविरुद्धको प्रतिकुल कार्य लगायत कसुरमा मुद्धा चलाउन राय दिने तयारी गरेको छ ।


Published :७ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media