काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने बताएका हुन् । उनले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदूपयोग गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।
नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयाजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालीहरुले अतिवादमा जानै नहुने पनि पटकपटक दोहो-याए । मुलुकमा पनि साम्प्रदायिक विद्धेष फैंल्याउने षडयन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसबाट जोगिएर अघि बढ्नुपर्ने पनि बताए । ओलीले विश्व राजनीतिमा धर्मको नाममा जनता मारिएको दृष्टान्त पेश गर्दै नेपालले पनि त्यसबाट सिकेर अतिवादको पक्षमा लाग्न नहुने बताए ।
अध्यक्ष ओलीले नेपालीहरुबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सद्भाव बिथोल्ने प्रयास हुन सक्ने भन्दै सचेत पनि गराए ।