सत्ता पक्षको आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न सक्दैनः उपनेता नेम्वाङ

राष्ट्रपाटी न्युज

१२ जेष्ठ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता पक्षले लगाएको आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न नदिने बताएका छन् ।

नेम्वाङले जलहारीमा लगाइएको सुन हो कि पित्तल हो सरकारले यसको जवाफ दिनुपर्ने भन्दै आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न नदिने बताए ।

पशुपतिमा लगाइएको जलहारी सुनको नभइ पित्तलको भएको आरोपसहित त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बताएका थिए । यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको आरोप पुष्टि नभएसम्म संसद चल्न नदिने अडान नेम्वाङको छ ।

प्रतिनिधिसभामा माओवादी सांसद लेखनाथ दाहालले जलहरीमा ओली सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि नेम्वाङले यस्तो चुनौती दिएका हुन् ।

एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठेर वेल घेराउसहित नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको हो।

उनले भने, ‘पशुपतिमा लगाएको सुन होइन, पित्तल हो भनियो । यसबारे जनताले बुझ्न पाउनुपर्छ, सरकारले यो विषयमा जवाफ दिनुपर्छ । कुनै पनि भ्रष्टाचारका मुद्दामा कोही पनि उम्किनु हुँदैन । सत्ता पक्षले सुनको जलहरी चढाउने भनेर पित्तलको जलहरी चढाइयो भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो । सत्ता पक्षले भनेपछि यो हो भन्ने हुन्छ, जनतामा त्यही कुरा जान्छ । हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ । यो आरोप टाउकोमा बोकेर हिँड्न सकिँदैन । दूधको दूध, पानीको पानी गरियोस् । यो सुनको जलहरी होइन भने कारबाही गरियोस् ।’


Published :१२ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media