भारतको बथनाहादेखि नेपालको बुधनगरसम्मको कार्गो रेल उद्घाटन

राष्ट्रपाटी न्युज

१८ जेष्ठ २०८०

काठमाडौं । भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको कार्गो रेल उद्घाटन भएको छ। बिहीबार दिउँसो हैदरावाद हाउसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मालवहाक रेलको उद्घाटन गरेका हुन्।

उद्घाटनपश्चात बथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म बिहीबारदेखि कार्गो रेल सञ्चालनमा आउने भएको छ । दुवै देशमा प्रधानमन्त्रीले रेलको उद्घाटन गरेपनि मुआब्जा विवादका कारण नेपालतर्फ रेलको अन्तिम गन्तव्य मोरङको कटहरी क्षेत्रमा रेलमार्ग निर्माण अवरुद्ध छ। बथनाहा–कटहरी १८.६ किलोमिटरमध्ये निर्माण र परीक्षण सम्पन्न भइसकेको बुधनगरसम्मको ८ किलोमिटरमा मात्रै रेल सञ्‍चालन हुनेछ ।

२०६८ सालदेखि सुरू भएको बथनाहा–कटहरी रेलमार्गको निमार्ण २०७३ सालमा सम्पन्न भइसक्नुपर्ने थियो। तर,कटहरी खण्डको मुआब्जा विवादका कारण भारतीय पक्षलाई जग्गा हस्तान्तरण हुन नसक्दा रेलमार्ग निर्माण सम्पन्न हुन सकेको छैन।

रेल–वे निर्माणमा भारतले सहयोग गरिरहेको छ। २०७५ कात्तिक ८ गते बथनाहा–बुधनगर रेल–वेको लिक परीक्षण गरिएको थियो। परीक्षणले रेल संचालन योग्य रहेको देखाए पनि हालसम्म रेल सञ्‍चालन हुन सकिरहेको थिएन ।


Published :१८ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media