कानुनविपरीतको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिने सहमति

राष्ट्रपाटी न्युज

जेष्ठ २५, २०८०

काठमाडौं । निर्वाचन आयोग र विभिन्न राजनीतिक दलहरुबीच जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्ने निर्णय फिर्ता लिनुपर्ने समझदारी भएको छ।

शुक्रबार आयोगले प्रमुख राजनीतिक दलसहित विभिन्न १२ वटा दलसँग गरेको छलफलमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी इकाइ खडा गर्ने काम नेपालको संविधान र प्रचलित कानुन विपरित हुने भएकाले यसलाई फिर्ता लिनुपर्ने समझदारी भएको हो ।

छलफलका क्रममा कार्यालय खारेज गर्ने विषयमा सरकारबाट कुनै निर्णय भएको भए तत्काल उक्त निर्णय फिर्ता लिई जिल्ला निर्वाचन कार्यालयहरु यथावतरूपमा सञ्चालनका लागि आवश्यक स्रोत साधान उपलब्ध गराउन आयोगमार्फत् सरकारलाई लेखी पठाउने निर्णय भएको छ ।

छलफलपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्न नहुने भन्दै जिल्ला निर्वाचन कार्यालयलाई छुट्टै अंगका रूपमा राखिनुपर्ने बताए ।

त्यस्तै एमाले निर्वाचन विभागका सचिव केदार कोइरालाले निर्वाचन कार्यालय खारेज गर्ने सरकारको प्रस्ताव संविधान विपरित र आयोगको स्वायत्ता विपरित रहेको बताए । माओवादी केन्द्रका नेता मुक्ति प्रधानले कानुनमा नभएको विषयलाई सरकारले अघि बढाउन खोज्नु स्वीकार्य विषय नभएको बताए ।

छलफलपछि निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कार्यालय खारेज गरी प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्ने कामले आयोगको स्वतन्छता र स्वतन्त्रतामा आघात पुग्नेमा दलहरूको बुझाइ रहेको बताए । उनले छरिएर रहेका निर्वाचन कानुनलाई एकीकृत गर्नेगरी आयोगले विधेयक तयार गरेको र यस विषयमा दललाई जानकारी गराइएको बताए।

त्यस्तै आयोग र दलहरूबीच निर्वाचन व्यवस्थापन विधेयक स्वीकृतिको प्रक्रिया अघि बढाउन र विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली संकलनका लागि कार्य प्रारम्भ गर्ने तथा राजनीतिक दलहरुको लेखा परीक्षणका सम्बन्धमा आयोगलाई सधै राजनीतिक दलहरूले आवश्यक सहयोग गर्ने निर्णयसमेत भएको छ ।


Published :जेष्ठ २५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media