आमनागरिकका लागि बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मातः गोकर्ण विष्ट

राष्ट्रपाटी न्युज

२८ जेष्ठ २०८०

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरुको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन् ।

आईतवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संसदमा प्रश्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताए । उनले बजेट औपचारिकतामा मात्रै सिमित भएको बताए । उनले आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मातझैँ भएको बताए ।

सचिव बिष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको बताए । उनले बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतीलाई सम्बोधन गर्न नसक्ने भन्दै अर्थतन्त्रले गति लिन नसक्ने दाबी गरे । उनले अर्थमन्त्री डा.प्रकाशशरण महतको जिल्ला नुवाकोट,प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको बताए ।

उनले विधि मापदण्ड, विवेक र न्यायका आधारमा बजेटको सही रुपमा विनियोजन हुन नसकेको बताए । सचिव बिष्टले न्याय स्थापित गर्नेगरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहुँच भएका जिल्ला मात्रै बजेट जाने बताए । उनले सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आश गर्ने भन्दै प्रश्न गरे । सचिव विष्टले बजेटलाई सरकारले परिमार्जन गर्नुपर्ने बताए । उनले बजेट निर्माणमा कहाँ चुक्यौँ भनेर सरकारले समिक्षा गर्नुपर्ने बताए । उहाँले राज्यको भुमिका झनै कमजोर बनिरहेको भन्दै सरकारले मुलुकको विशेषतामा आधारित अर्थनीति अपनाउनु पर्ने अवस्था आएको बताए ।


Published :२८ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media