
काठमाडौं । कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सबमा प्रदान गर्दै आएको कबा सम्मान तथा पुरस्कारलाई निरन्तरता प्रदान गर्दै यो वर्षको लागि प्रतिभा चयन गरेको छ । यस पटक कबा विशिष्ट सम्मान कपन बानेश्वर साहित्यिक साप्ताहिकका विशिष्ट सदस्य साहित्यकार विमल अर्याललाई प्रदान गरिने भएको छ ।
यसैगरी महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार २०७९ साहित्यकार तथा साहित्यिक पत्रकार मुरारी सिग्देललाई प्रदान गरिने भएको छ । पत्रिकामा प्रकाशित रचनाहरु मध्ये यस पटक नालाङ्ग कबा रचना पुरस्कार २०७९ पुरुष तर्फ दिवाकरप्रसाद आचार्यलाई पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार २०७९ महिला तर्फ शान्ति रिसाललाई ,गङ्गा लिगल कबा रचना पुरस्कार २०७९ मोफसल तर्फ लमजुङका रमेशचन्द्र घिमिरेलाई र हेमगङ्गा कबा रचना पुरस्कार २०७९ बाल तर्फ रिलायन्स इन्टरनेसनल एकेडेमी कपनका युगिन नेपाललाई प्रदान गरिने भएको छ ।
पत्रिकाका प्रबन्धक वरिष्ठ साहित्यकार गङ्गा पौडेलको संयोजकत्वमा गठित प्रतिभा चयन समितिको सिफारिस बमोजिम प्रतिभा चयन गरिएको जनाइएको छ । यि सम्मान तथा पुरस्कार आगामी साउन ५ गते शुक्रबार पत्रिकाको एघारौं वार्षिकोत्सबको अवसरमा गरिने विशेष कार्यक्रम बीच प्रदान गरिने कपन बानेश्वरका व्यवस्थापक विमल कोइरालाले बताएका छन् । पत्रिकाका संरक्षकहरुको नाममा पुरस्कारहरुको नामाकरण गरिएको र पुरस्कारमा सास,प्रमाणपत्र र नगद ५,००० रुपैयाँ रहेको पत्रिकाका सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीले बताएका छन् । निबन्ध आचार्यको सम्पादन तथा प्रकाशनमा २०६९ साउन ५ गतेदेखि निरन्तर रुपमा प्रकाशित कपन बानेश्वर साहित्यिक साप्ताहिकलाई नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिकाको रुपमा हेर्ने गरिएको छ ।