बजेट संशोधन नगरे विपक्षमा मतदान गर्ने सत्तारुढ दलकै सांसदहरुको चेतावनी

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसदहरुले सरकारले पेस गरेको बजेट संशोधन नगरे पक्षमा मत नदिने चेतावनी दिएका छन् । बजेटमा एकलौटी गरिएको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै असन्तुष्ट रहेका नेकपा एसमा सांसदहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुधबार आफ्नो धारणाबारे जानकारी दिँदै यथास्थितिमा पास गर्न सहयोग नगर्ने उल्लेख गरेका छन् ।

सांसदहरू राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठ, अम्बरबहादुर थापालगायत सांसदहरूले बुधबार अध्यक्ष नेपाललाई भेटेर आफ्नो धारणा राखेका हुन् । नेकपा एसका बहुसंख्यक सांसदहरू बजेटको विपक्षमा उभिएपछि यसबारे छलफल गर्न नेकपा एसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ ।

अर्का सांसद कृष्णकुमार श्रेष्ठले पनि बजेटमा मनलाग्दी गरिएकाले आफूहरुले विरोध गरेको बताए । बजेट कुनै जिल्लामा मात्र केन्द्रित रहेको, प्याज आलुलगायतमा कर बढाएको, डीपीआर नै नभएका परियोजनामा अर्बौं बजेट हालेको भन्दै नेकपा एसका सांसदले आपत्ति जनाएका छन् ।

नेकपा एसका अध्यक्ष नेपालले पनि यसअघि सार्वजनिक मञ्चबाटै बजेट संशोधन नभए पास गर्न नसकिने बताएका थिए ।


Published :असार ५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media