काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा बजेट नघटाएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षाको बजेट नघटाएको स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साचो नभएको बताए । उनले संघीयताको मर्मअनुरुप संघबाट प्रदेश र स्थानीय तह वित्तीय हस्तान्तरणको १५ प्रतिशत बढि रकम मधेश प्रदेशमा जाने गरेको बताए। यसका अतिरिक्त संघबाट संचालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगन्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती कमला चन्द्र नहरलगायत सिँचाइ आयोजनाहरू तराई मधेशलाई लक्षित गरी अगाडि बढिरहेको बताए ।
मधेशलाई काठमाडौं जोड्ने द्रूतमार्गलगायतका ठूलो परियोनाहरू पनि मधेश प्रदेशमा पर्ने र तिनको समयवद्ध कार्यान्वयनका लागि यथोचित बजेट विनियोजन गरिएको भन्दै प्रधानमन्त्रीले वीरगन्जको विकास सरकारको प्राथमिकतामा रहेको बताए ।