काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताएका छन् ।
भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पर्क भाषा बनेको नेपाली भाषालाई घरघरमा स्थापित गराउन भानुभक्तको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्ने उल्लेख गरे ।
भानुभक्तले न्याय र जीवनको सार्थकताको पक्षमा आवाज उठाउनुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकता हरेकलाई बोध गराउन तथा न्यायको पक्षमा भूमिका निर्वाह गर्न प्रेरित गर्नुभएको स्म गरे ।
जीवनको सार्थकता र मूल्यबोध गर्ने विषयमा मनन गर्न आवश्यक रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकतालाई ग्रहण गर्न भानुभक्तबाट सिक्नुपर्ने बताए ।
नेपालको पहिचान र गौरव कायम गर्न, नेपाली हुनाको गौरव स्थापित गर्न र भानुभक्तले निर्वाह गर्नुभएको भूमिका कायम राख्नका लागि राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भानुभक्तले भाषा एकीकरणका सम्बन्धमा क्रान्तिकारी योगदान गरेको बताए । सम्पर्क भाषाका रुपमा नेपाली भाषाको विकास हुनुमा उनको अतुलनीय योगदान रहेको उनको भनाइ थियो ।
भोलिवादलाई समाप्त गर्ने दायित्व हामी सबैको काँधमा आएको उल्लेख गर्दै मन्त्री किराँतीले भानुभक्तको औचित्य आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।