काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा रहेका १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले आइतबार म्याद थप गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका ‘सीआइबी’ एसएसपी दिनेश आर्चायका अनुसार आइतबार चौथो पटक म्याद थप गर्दै ५ दिनको म्याद दिइएको हो ।
ललिता निवास प्रकरणमा बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाहसहित १७ जना प्रहरी हिरासतमा छन्। उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले पहिलो र दोस्रो पटक ७ दिन, तेस्रो पटक ५ दिन र आज चौथो पटक ५ दिनको म्याद थप भएको हो।
यस प्रकरणमा गत असार १२ गरे एकैपटक सात जनालाई पक्राउ गरी प्रहरीले नयाँ ढंगबाट अनुसन्धान सुरु गरेको हो।
प्रहरी हिरासतमा रहनेमा मीन बहादुर गुरुङ, सुधीर कुमार शाह , धर्मप्रसाद गौतम , गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की , बाबुराजा महर्जन, रमेशकुमार पोखरेल , देव नारायण महर्जन, लोकहरी घिमिरे, धुव्रप्रसाद अर्याल, कृष्णबहादुर राउत , योगराज पौडेल, नारायणदास मिश्र , रुद्रप्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ ,विनोद पौडेल रहेका छन्।
कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी अदालतको स्टे अर्डरका आधारमा छुटेका छन् ।