काठमाडौं । मंगलबार बरामद भएको ठूलो परिमाणको सुनको तौल १५५ केजी रहेको पाइएको छ ।
टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार उक्त सुनको तौल १५५ किलो रहेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भएको थियो। उक्त सुन जोख्नका लागि बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्याइएको थियो।
आठ वटा पोकामा उक्त सुन राखिएको छ।
यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्।
बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।
यसैबीच सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न लागि अर्थमा सिफारिस गरेको हो ।
भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गरेका हुन् ।
राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।