साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन

राष्ट्रपाटी न्युज

५ श्रावण २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साईबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाई सो सम्बन्धमा गम्भिर भएर काम गर्न निर्देशन दिएका हुन् ।

साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाला निकायले यसलाई सिरियस भएर प्राथमिकतासाथ काम गर्नुपर्ने कुरामा प्रधानमन्त्री दाहालले निर्देशित गरेको राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री दाहाल समक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साईबर सुरक्षाबारे नेपालमा भईरहेको कामकारबाहीबारे बिफ्रिङ गरेका थिए ।

बैठकमा साईबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउने गरी कानुनी, नीतिगत र संस्थागत प्रबन्ध गर्न एउटा छुट्टै कार्ययोजना बनाएर लागू गर्ने निर्णय पनि गरिएको थियो । बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सरोकारवाला मन्त्रालयका मन्त्री र साईबर सुरक्षाको क्षेत्रमा कार्यरत सुरक्षा निकायका प्रमुख तथा विभागका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


Published :५ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media