सुन तस्करी प्रकरण छानबिन गर्न तोकियो अनुसन्धान अधिकृत

राष्ट्रपाटी न्युज

६ श्रावण २०८०

काठमाडौं । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो। यो प्रकरणमा हालसम्म पक्राउ परेका १० जनालाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिएको छ । ठूलो परिमाणमा भित्रिएको अवैध सुनको कारोबारमा जोडिएका अरु व्यक्तिको खोजीका लागि अनुसन्धान अधिकृतहरू तोकिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।

राजस्व चुहावटसँग सम्बन्धित प्रमाण संकलन गर्दा कसुरमा मुछिएका व्यक्तिलाई पक्राउ गरी कारबाही चलाउने, गोदाम वा आवश्यकतानुसार अन्य स्थानको खानतलासी लिने, त्यस्तो गोदाम वा स्थानलाई सिल गर्ने, सम्बन्धित कागजपत्र तथा मालवस्तु आफ्नो कब्जामा लिनेलगायतका अधिकारसहित अनुसन्धान अधिकृतहरू तोकिएका हुन् ।


Published :६ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media