काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा पढ्दै र कमाउँदै कार्यक्रम लागू गर्नुपर्ने बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रचण्डले पढ्दै र कमाउँदै कार्यक्रम लागू गर्दा बीचमै विश्वविद्यालयको पढाइ छोडेर विद्यार्थी विदेशिने समस्या समाधान हुने बताएका हुन् ।
बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘विश्वविद्यालयले देशलाई कुन किसिमको जनशक्तिको आवश्यकता छ त्यसैअनुसार जनशक्ति उत्पादन गर्ने कार्यक्रम सञ्चालन गर्नतिर ध्यान दिनुपर्ने देखिन्छ।’
उनले राज्यको सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले उच्चशिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष रुपमा अगाडि बढ्नुपर्ने बताए।
सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमलाई सुव्यवस्थित बनाउँदै दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम सञ्चालन गरी अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिइनु आफैमा महत्वपूर्ण र प्रशंसनीय रहेको उनको भनाइ छ।
विश्वविद्यालयले आफूलाई नेपालको उच्चशिक्षाको थलोको रूपमा स्थापित गरी देशको आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने उनको भनाइ छ ।