विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

राष्ट्रपाटी न्युज

१८ श्रावण २०८०

काठमाडौं । संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ ।

बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।

उनले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको पनि बताए ।

उनले भने, ‘पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वभर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको छ ।’

साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।

परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन् ।


Published :१८ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media