वीरगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुन:सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् ।
शुक्रबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले भने,‘ चिनी कारखाना पुर्नसञ्चालन गरिन्छ नै भनेर अहिले भन्न सकिने अवस्था छैन । यसका लागि सरकारका तर्फबाट सम्भाव्यता अध्ययन भइरहेको छ, यो काम सकेपछि मात्रै चलाउने वा नचलाउने भन्ने कुराको टुङ्गो लाग्छ ।’
चिनी कारखाना चलाउँछौं भनेर सरकारले अहिले हचुवाको भरमा घोषणा नगर्ने पनि उनले प्रष्ट पारे । अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुर्नसञ्चालनको घोषणा गर्दै गत आर्थिक वर्षको बजेटमा २० करोड रुपैयाँ विनियोजन पनि गरेका थिए ।
सोभियत संघको सहयोगमा २०१९ सालमा निर्माण गरि २०२१ सालदेखि सञ्चालनमा ल्याइएको वीरगन्ज चिनी काराखाना घाटामा गएपछि सरकारले २०५९ फागुनदेखि बन्द गरेको थियो ।
अर्थमन्त्री महतले वीरगन्जस्थित कृषि औजार कारखाना मर्मत सम्भारगरी पुर्नसञ्चालनमा ल्याउनका लागि अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराइसकेको जानकारी पनि गराए ।
केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले सम्झौता अनुसार अर्थमन्त्रालयले बजेट नदिएका कारण कारखाना मर्मत सम्भारका लागि रकम जुटाउन आफूले पाएका मेडलहरू लिलामीमा राखेको पोष्ट सामाजिक सञ्जालमा राखेका छन् ।