घरधनीलाई करको दायरामा ल्याउन लगत सङ्कलन

राष्ट्रपाटी न्युज

२१ श्रावण २०८०

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत सङ्कलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण सङ्कलन गर्न थालेको हो ।

नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको विवरण दाखिला गरी लगत कायम गर्न ३५ दिने सूचना जारी गरिएको बताइन् ।

यसअघिका वर्षमा बेनीका घरधनीले घरबहाल कर स्वेच्छिकरूपमा तिर्दै आएका थिए ।

नयाँ आर्थिक वर्षदेखि घरबहाल करलाई अनिवार्य गरिएको कर अधिकृत शर्माले बताइन् । स्वेच्छिकरूपमा घरबहाल कर बुझाउने घरधनी न्यून भएपछि धेरैलाई समेट्न नगरसभाबाट ऐन संशोधन र घरधनीको वर्गीकरण गरिएको हो ।

सङ्घसंस्था र कार्यालय प्रयोजनका लागि घरभाडामा लगाउनेले १० प्रतिशत, व्यावसायिक प्रयोजनको चार प्रतिशत र आवासीय प्रयोजनको दुई प्रतिशतको दरले बहाल कर तोकिएको छ । यसअघि सबैलाई १० प्रतिशतका दरले घरबहाल कर तोकिएको थियो ।

बैंक, वित्तीय संस्था, सहकारी, कार्यालय, सङ्घसंस्थालाई घरभाडामा दिएका, वैदेशिक रोजगारी र आम्दानीको स्रोत प्रमाणित गर्ने प्रयोजनका क्रममा मात्र घरबहाल कर तिर्ने गरेका थिए । गत वर्ष घरबहाल शीर्षकमा नगरपालिकाले ३० लाख ३५ हजार राजस्व संकलन गरेको थियो ।

नयाँ आर्थिक वर्षमा यो शीर्षकमा ५५ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ । घरबहाल कर नगरपालिकाले प्रदेश र सङ्घीय सरकारसँग बाँडफाँट गर्नु नपर्ने आम्दानीको स्रोत हो । जिल्ला सदरमुकामसमेत रहेको बेनी बजार, गलेश्वर र तातोपानी क्षेत्रमा घरभाडामा लगाउने गरेका छन् ।

घरबहाल कर तिर्ने नगरवासीको सङ्ख्या न्यून छ । मन्दिर, समिति, विद्यालय र सङ्घसंस्थाले पनि घर तथा सटर भाडामा लगाएका छन् । तर बाध्यता परेको अवस्थामा मात्र घरबहाल कर तिर्ने गरेका छन् । घरधनीले तिर्नुपर्ने बहाल कर आफूहरूको थाप्लोमा पारेको व्यवसायीको गुनासो छ ।


Published :२१ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media