काठमाडौँ । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ ।
आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।
दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि कार्यक्रम गर्दैछ ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।
संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।
सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले पनि काठमाडौँमा कार्यक्रमको आयोजना गरेको छ ।
यसैबीच कोशी प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभरि बिदा दिएको हो ।
संसारभरि अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाउँदै आएको बेला ‘पहिचानको आन्दोलन’ भइरहेको सो प्रदेशमा पहिलोपटक सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश नामाकरणको विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिवासी तथा जनजाति दिवसमा बिदा दिइएको जनाइएको छ ।
प्रदेश सरकारले केही बिदाहरू आफू अनुसार गर्न पाउने अधिकार संघीय सरकारले दिएको छ । सोही आधारमा कोशी प्रदेशले आज सार्वजनिक बिदा दिएको हो ।