श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्छः महासचिव पोखरेल

राष्ट्रपाटी न्युज

२७ श्रावण २०८०

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरेका छन् ।

भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को दशौँ प्रतिनिधि परिषद्को उद्घाटनका क्रममा महासचिव पोखरेलले यही साउन १ गतेदेखि नै लागू भइसक्नुपर्ने न्यूनतम् ज्याला साउनको अन्तिम सातासम्म पनि सरकारबाट तय हुन नसकेकामा दुःख व्यक्त गरे ।

सरकारको श्रमिक नीतिमा रहेको समस्याका कारण प्रत्येक वर्ष साढे सात लाख श्रमिक रोजगारीका लागि विदेशिनुपरेको उल्लेख गर्दै उनले अवैधानिक पुँजीलाई प्रश्रय दिनु र वैधानिक पुँजीलाई निरुत्साहित गरिनुले समृद्धि हासिल नहुने जनाए ।

जिफन्टका संरक्षक तथा एमालेका उपमहासचिव विष्णु रिमालले बदलिँदो स्थितिमा जिफन्टले आफूलाई निर्माताहरूको संगठन बनाउनुपर्ने बताए । एफइएसका नेपाल निर्देशक डा चन्द्रदेव भट्टले अहिलेको विश्व श्रमबजार नै प्रतिकूल रहेकाले पुँजी र श्रमबीचको सम्बन्धलाई कसरी विस्तार गर्ने ट्रेड युनियनलाई समाजसँग कसरी जोड्ने ट्रेड युनियन आन्दोलनको विषय रहेको बताउँदै नेपालको श्रमबजारमा जिफन्ट सधैँ अब्बल रहेको बताए ।

मुलुकभरबाट सहभागी तीन सय सात जना प्रतिनिधिलाई स्वागत गर्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जिफन्टलाई सर्वकालिक सशक्त संगठनका रूपमा निर्माण गर्न जिफन्ट स्थापनाकालमा योगदान गर्ने सबै अग्रजहरूको भूमिकालाई स्मरण गरे ।


Published :२७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media