काठमाडौं । स्नेह, ज्ञान र नेतृत्वको मूल मान्यतामा विश्वास राख्दै नेपालको शिक्षाको विकासमा निरन्तर योगदान दिँदै आइरहेको त्रि–ज्योति मा.वि.ले आगामी भाद्र २४ गते साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली समाजको मौलिक र प्यारो संस्कृति मानिएको तीजको महत्वलाई संरक्षण गर्ने ध्येयले वि.सं. २०७४ सालबाट सुरु गरिएको तीज नृत्य प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुले भाग लिन सक्ने प्रिन्सिपल गणेश मिश्रले जानकारी दिएका छन्।
कम्तीमा १२ जनादेखि १६ जनाले भाग लिन पाउने सो नृत्य प्रतियोगिताको गीतको बोल मौलिक तीज गीत मात्र रहने छ । प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयहरुलाई शिल्ड, प्रमाणपत्र र मेडलको व्यवस्था गरिएको छ भने उत्कृष्ट सात समूहलाई सान्त्वना पुरस्कारको व्यवस्था मिलाइएको छ । उत्कृष्ट कोरियोग्राफरलाई समेत पुरस्कारको प्रबन्ध गरिएको यस नृत्य प्रतियोगिताले बालिकाहरुमा नेपाली मौलिक संस्कृतिप्रतिको उच्च सम्मान र गौरबबोध गर्ने वातावरण तयार गर्नमा सहयोग पु¥याउने छ भन्ने विश्वास आयोजक विद्यालयका प्राचार्य मिश्रले व्यक्त गरेका छन्।
उपत्यकाभित्रका सबै विद्यार्थीहरुलाई सहभागिताको लागि पत्राचार र आव्हान गरिएको र सम्पर्क गर्न कठिन भएको स्थितिमा विद्यालयमा सामाजिक सञ्जाल मार्फत पनि सम्पर्क गर्न सकिने विद्यालयका कोअर्डिनेटर एवम् कार्यक्रम संयोजक प्रविन श्रेष्ठले जानकारी दिएका छन्।