चालु आवको एक महिनामै भित्रियो १ खर्ब १६ अर्ब २ करोड रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय प्रतिवेदनअनुसार यो रेमिट्यान्स २०७९ साउन महिनाको तुलनामा २५.८ प्रतिशत बढी हो ।

अमेरिकी डलरमा भने गत वर्षको साउनको तुलनामा यो साउनमा २१.५ प्रतिशतले रेमिट्यान्स वृद्धि भई ८७ करोड ९८ लाख डलर पुगेको छ । अघिल्ला महिनाहरुमा विदेश जानेको संख्या उल्लेख्य बढेकाले रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो ।

यद्यपि यो साउनमा भने अन्तिम श्रम स्वीकृति लिनेको संख्या गत वर्षको साउनको तुलनामा घटेको छ । साउनमा संस्थागत तथा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।


Published :भदौ ३१, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media