
काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा झरेको हो।
अघिल्लो दिन बुधबार नेप्से परिसूचक २.६६ अंकले बढेको थियो। सो दिन ५ अर्ब ७३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से घटेसँगै कारोबार रकममा पनि बुधबारको तुलनामा कमी आएको छ।
यसदिन ३५३ वटा स्क्रिप्सको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९४४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ६३ वटा स्टक्सको मूल्य बढ्दा १९८ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
दोहोरो अंकले घटेरको बजारमा कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा न्यादी हाइड्रोपावरको सेयर ९.१६ प्रतिशतले बढ्यो। ३४ करोडको सेयर कारोबार गरी एभरेष्ट बैंक शीर्ष स्थानमा रह्यो।
यसैगरी आँखु खोला जलविद्युत कम्पनीले ३२ करोडको सेयर कारोबार गर्दा सेन्ट्रल फाइनान्सले १८ करोड,नेपाल रिइन्स्योरेन्सले १७ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकले १४ करोड मूल्य बराबरको कारोबार गरे। म्युचुअल फण्डबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।