एक दिनमै २४ हजार बढीले लिए बसको अग्रिम टिकट

राष्ट्रपाटी न्युज

२३ आश्विन २०८०

काठमाडौं । उपत्यकाबाट चाडबाड मनाउन गाउँघर जान गोंगबुस्थित नयाँ बसपार्कबाट सोमबार एक दिनमा २४ हजार ३ सय ४० यात्रुले अग्रिम टिकट लिएका छन् ।

सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो। पहिलो दिन उक्त संख्यामा यात्रुले टिकट लिएको नयाँ बसपार्क सञ्चालक संस्था लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले बताए।

सोमबार अग्रिम टिकट लिनका लागि आइतबार रातिदेखि नै यात्रुहरु बसपार्कमा आएर लाइन लागेका थिए। नयाँ बसपार्कबाट देशका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन चल्दै आएका छन् ।

सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीसाधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारीका लागि भने घटस्थापनादेखि टिकट खुलाउने तयारी गरेको छ।

नयाँ बसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षाका लागि ५० भन्दा बढी प्रहरी सादा पोसाकमा परिचालन गरिएको जानकारी दिए।

उनका अनुसार काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।

 


Published :२३ आश्विन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media