अजरबैजन । आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को उद्घाटन भएको छ ।
उद्घाटन सत्रमा जलवायुसम्बन्धी समस्या निराकरणका लागि विश्व समुदायले एकताबद्ध रुपमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ ।
सम्मेलनको आज उद्घाटन गर्दै, कोप २९ का अध्यक्ष मुख्तार बाबायेभले जलवायु परिवर्तनका कारण विश्व नै विनासको मार्गमा पुगेको बताउँदै जलवायुजन्य समस्या समाधान र जलवायु जोखिमका सम्भावित समस्याका विषयमा एकजुट भएर समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
यसैगरी उद्घाटन सत्रमा बोल्दै निवर्तमान कोप–२८ का अध्यक्ष सुल्तान अल जाबेलेदले सबैको सहकार्य र एकताले जलवायुजन्य समस्या निराकरणमा सहयोग पुग्नेमा जोड दिए । “म तपाईंलाई अन्तिम सन्देश दिन चाहन्छु कि सबैको सकारात्मकताले नै जलवायु न्यूनीकरणका नीति कार्यान्वयनलाई बलियो बनाउन सकोस्”, उनले भने ।
संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले विश्वभर बढिरहेको जलवायुजन्य सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै प्रकारले प्रभावित भइरहेको बताए । जलवायुजन्य समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेमा उनको जोड छ ।
आगामी नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने कोप सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु पुगेका छन् । राष्ट्रपति पौडेलका वन तथा वातावरण सल्लाहकार डा प्रमेश्वर पोखरेलले जलवायु परिवर्तन गराउने मुख्य तत्व कार्वन उत्सर्जनले निम्त्याएका समस्या समीक्षा गर्दै यसको न्यूनीकरणका लागि कोप सम्मेलनमा समाधान पहिल्याउने विश्वास व्यक्त गरे ।
विकासशील देशहरुले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या समाधानका लागि अपनाउनुपर्ने उपायबारे सम्मेलनले निष्कर्ष निकाल्ने उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि विश्वसमक्ष नेपालको धारणा प्रस्तुत गर्दै छन् । एक सय ९२ भन्दा बढी मुलुकको राष्ट्र प्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सम्मिलित सम्मेलनमा उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उहाँले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरणसमेत प्रस्तुत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेललाई दर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फरिद अहमदोले स्वागत गर्ने क्रममा हालको विश्वको समस्या नै जलवायु परिवर्तन भएको बताएका छन् ।
यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता गरेको रकÞम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । (रासस)