रुकुम पश्चिमको आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक १८, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्‍याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ ।

गए रातिदेखि नै शुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

प्रहरी निरीक्षक खड्काका अनुसार ४२ जनाको शव घरपरिवारले बुझिसकेका छन् । घाइते भएका एक सयजनामध्ये जिल्ला अस्पताल सल्ले, नगर अस्पताल राडी र गम्भीर घाइते भएका तीन जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार चलिरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ मा  ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति पुर्‍याएको छ । मानवीय क्षति भएको ठाउँको खोजी कार्य सकिएको र थप आवश्यक परे नगर प्रहरी जनप्रतिनिधि नेपाल प्रहरी लगाए कर्मचारीको समूह तयारी अवस्था रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए ।

सानीभेरी गाउँपालिकामा ५० जना घाइते हुँदा १० जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बाफीकोट गाउँपालिका–१ र मुसिकोट नगरपालिकामा दुई जना घाइते भएका छन् ।


Published :कार्तिक १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media