मुगु सामूहिक हत्याकाण्डका दुई आरोपित पक्राउ, आज प्रहरीले सार्वजनिक गर्ने

राष्ट्रपाटी न्युज

कार्तिक २४, २०८०

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।

पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए ।

यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो ।

हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोलगायत टोली खटिएको थियो ।


Published :कार्तिक २४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media