एमालेविरोधी तत्वहरुसँग खुलेर मुकाबिला गर्छौँ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले गणतन्त्र र एमालेविरोधी तत्वहरुको खुलेर मुकाबिला गर्ने बताएका छन् ।

युवा संघले मङ्सिर ७ गतेको गर्ने विरोध प्रदर्शनका सम्बन्धमा आज बिहान सूर्यविनायकमा नेकपा एमाले भक्तपुरले आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य बस्नेतले सेनापतिलाई आक्रमण गर्दा हात बाँधेर बस्ने व्यक्ति सैनिक हुन नसक्ने पनि बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीमाथि साइबर आक्रमण भइरहँदा एउटा पनि स्ट्याटस नलेख्ने र त्यसका विरुद्ध नबोल्ने व्यक्ति एमाले हुन नसक्ने बताएका छन् ।
एउटा लफङ्गाले तर्साउँदा एमाले पङ्क्ति स्याल जस्तो भएर सुत्नु लज्जास्पद भएको भन्दै भक्तपुरका सबै पार्टी पङ्क्तिलाई यस्ता कुराको डटेर प्रतिरोध गर्न नेता बस्नेतले निर्देशन दिएका छन् ।

युवा सङ्घ नेपालका इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य बस्नेतले दुई महिना अघि नै युवा सङ्घले व्यवस्था विरोधी शक्तिहरूकाविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताएका छन् ।

‘एमालेका विरुद्धमा रहेका अपराधी, माफिया र लफङ्गाहरूलाई ठेगान लगाउने बताउँदै नेता बस्नेतले ‘गणतन्त्रमाथि धावा बोल्दा, पञ्चायतकालिन राष्ट्रिय गान गाउँदा सत्तामा हुनेहरूलाई दुख्दैन । उनीहरू रमिते हेरेर बसेका छन् । तर एमाले गणतन्त्र विरोधी तत्वहरूको खुलेर मुकाबिला गर्दछ ।’ भनेका छन् ।


Published :३ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media