काठमाडौं । काठमाडौंको बल्खु चोकमा युवा संघ र दुर्गा प्रसाई समूहबीच झडप भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा प्रसाईका कार्यकर्ताले ढुंगा प्रहार भएपछि झडप भएको हो ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ ।
ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।
दुई पक्षबीच झडप सुरु भएपछि काठमाडौँको बल्खु चोकमा प्रहरीको संख्या बढाइएको छ ।