राजतन्त्र फर्काउँछु भन्नेहरू चेतना नभएका मुर्खहरू हुन् : ओली

राष्ट्रपाटी न्युज

मंसिर ७, २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्काउँछु भन्नेहरू चेतना नभएका मुर्खहरू भएको टिप्पणी गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले प्रेतका नली खुट्टाको हड्डी फुकेर राजतन्त्र नफर्किने बताए ।

कामै नलाग्ने चिज भएको भन्दै जनताले १५ वर्षअघि नै राजतन्त्र फ्याँकेको उनको भनाइ छ ।

मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नु मुर्खता सिवाय केही नभएको उनले बताए । उनले राजनीतिकरूपले, वैचारिकरूपले, सैद्धान्तिकरूपले कुनै पनि हिसाबले राजतन्त्र मान्न नसकिने बताए ।

उनले अरु देशमा जे भए पनि नेपालमा राजतन्त्र काम नलाग्ने बताए । ‘अरु देशमा के छ हामीले केही भन्नु छैन । हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालेका हुन्। यो देशमा २० वर्षमा एउटा बाटो बन्न नसक्नुको कारण के? विकास हुनुको कारण के? २४० वर्षमा किन भएन विकास?,’ ओलीले प्रश्न गरे ।

यस्तो देश अर्को देशमा मिसाइदिए सस्तोमा साइकल किन्न पाइन्छ भन्नेहरू बिकाउ मालहरू भएको उनको भनाइ छ ।

उनले देश संकटमा परेका बेला युवा संघ मैदानमा उत्रिएर देखाएको बताए । उनले प्रतिक्रियावादीहरूविरुद्ध लड्न सधैं तयार हुन युवा संघ र युथ फोर्सलाई निर्देशन दिएका थिए ।


Published :मंसिर ७, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media