एनएसएलमा आज दुई खेल हुँदै

राष्ट्रपाटी न्युज

१६ मंसिर २०८०

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै छन् । जसअन्तर्गत आज झापा एफसी र पोखरा थन्डर्स तथा धनगढी एफसी र ललितपुर सिटि एफसी बीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा झापा र पोखरा भिड्ने छन् । लिगमा झापाको यो दोस्रो खेल हो भने पोखरा तेस्रो खेल खेल्दैछ ।

पोखरा यसअघिका खेलमा अपराजित रहेको छ । पहिलो खेलमा चितवन एफसीलाई हराएको पोखराले दोस्रो खेलमा ललितपुर सिटीसँग गोलरहित बराबरी खेलेको थियो । झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको थियो । दुई खेलबाट पोखराकाे ४ अंक छ भने झापा अंकविहीन छ ।

यस्तै, आजै साँझ साढे ५ बजे हुने दोस्रो खेलमा धनगढी र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा धनगढी अपराजित रहेको छ । उसले पहिलो खेलमा वीरगञ्ज युनाइटेड र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई हराएको थियो । लिगमा धनगढी ६ अंकका साथ शीर्षस्थानमा छ ।

त्यस्तै ललितपुर पनि अपराजित छ । उसले पहिलो खेलमा बुटवल लुम्बिनीलाई जितेको थियो भने पोखरासँग गोलरहित बराबरी गरेको थियो । लिग तालिकामा ललितपुर ४ अंकसहित दोस्रो स्थानमा  छ ।


Published :१६ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media