हुम्ला र मुस्ताङमा हिमपात, कालिकोटमा वर्षा, जनजीवन कष्टकर

राष्ट्रपाटी न्युज

१८ मंसिर २०८०

हुम्ला । सोमबार बिहानैदेखि हुम्लामा हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै हुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।

सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएको छ । हिमपातपछिको चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले जानकारी दिए ।

हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको छ । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको स्थानीयले बताएका छन् ।

आज बिहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताए । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिउँ जमेको छ ।

यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीय किसानले बताएका छन् । जेठमा पाक्ने उवा, जौँ र गहुँ बालीलाई यसपटक परेको हिउँले राम्रो गर्ने अपेक्षा गरिएको छ ।

चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

मुस्ताङमा पनि हिमपात
मुस्ताङमा सोमबार बिहानैदेखि हिमपात भएको छ । यस याममा पहिलो पटक हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

बिहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएका छन्। यातायताका साधान पनि निरन्तर चलिरहेका उनले बताए ।

हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए ।

यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ । यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुननसकेको उनको भनाइ छ । बिहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भएको छ ।

‘यस वर्ष पहिलो पटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था छ । यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए,’ उनले भने ।

कालिकोटमा वर्षा
कालीकोटको मान्ममा पनि आज बिहानैदेखि पानी परेपछि स्थानीय किसान खुसी भएका छन् । कर्णालीका हिमाली जिल्लामा पानी र हिमपात सुरु भएपछि बाली सप्रिने आशामा किसान खुसी भएका हुन् ।

पानीसहित हिमपात हुनु किसानका लागि निकै राम्रो भएको कालिकोट नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताए । ‘गहुँ बाली छरेका बेला पानी परेकाले किसानका लागि निकै राम्रो भएको छ,’ उनले भने ।

मान्मको तल्लो भू–भागमा पानी परेको छ भने उच्च क्षेत्रमा हिमपात सुरु भएको कालीकोट रास्कोट नगरपालिका–१ का धनिराम सिंम्खडाले जानकारी दिए ।


Published :१८ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media